प्रकाश गुरुङ
पोखरा। पञ्चासे हर्पनडाँडा समाज युकेले उपचारक्रममा बायाँ खुट्टा गुमाएका सिधाने निवासी यामबहादुर गुरुङलाई ९ लाख ४२ हजार २३४ सहयोग गरेको छ।
युके समाज अध्यक्ष देउकाजी गुरुङ हालमा नेपाल बिदा भएकोले उनकै उपस्थितिमा उक्त रकम याम गुरुङकै डेरामा गएर १ जनवरीमा बुझाइएको थियो।
याम गुरुङ पोखरा २३, साविक भदौरेतामागी गाविस सिधाने ९ थोँजु स्व. नरजन गुरुङ र जगने गुरुङका छोरा हुन्। ४० वर्षीय उनको बायाँ खुट्टा नचल्ने भैसकेकाले उपचारका लागि मनमोहन हस्पिटल काठमाडौं लगिएकोमा चिकित्सकको सल्लाहमा खुट्टा नै गुमाउनुपर्ने अवस्था भयो।
यामको आर्थिक स्थिति कमजोर भएकाले पञ्चासे हर्पनडाँडा समाज युकेसँग सहयोगका लागि अनुरोध गरेका थिए। सहयोगको आह्वान गरेको केही हप्तामा नै युके समाजले रकम जम्मा गरेर नेपाल पठाएको थियो।
उठेको रकम हस्तान्तरण गर्ने क्रममा, छिट्टै कृत्रिम खुट्टा राखेर आफ्नो दैनिकीलाई निरन्तर राख्न अध्यक्ष देवकाजी गुरुङले सल्लाह दिएका थिए।
पञ्चासे हर्पनडाँडा समाज युके पोखरादेखि पश्चिममा पर्ने सिधाने, कुद्बिडाँडा, दम्दमे र मकनपुर गाउँहरु मिलेर २०१२ सालमा स्थापना भएको हो। आफ्नो गाउँघरको लागि सहयोग गर्न निकै सक्रिय समाज हो। गत सेप्टेम्बर महिनामा मात्रै मिर्गौलापीडित सरस्वती पराजुलीलाई २ लाख ४ हजार सहयोग गरेको थियो। समाजले भूकम्प, बाढीपैह्रो, कोभिडको बेला, विनासकारी अवस्थामा निकै सहयोग गरेको थियो। आकस्मिक सेवाको लागि २१ लाख सहयोग गरिसकेको छ। साथै २ जना छात्राहरुलाई युनिभर्सिटीमा पढाइरहेको छ।
रकम हस्तान्तरण कार्यक्रममा युवा समाजसेवी सविन गुरुङ, सिधाने गाउँका टोल सयोजक ईश्वर घले, पीडितका कान्छा बुवा इन्द्रबहादुर गुरुङ, दिदी मैता गुरुङ, भिडियोग्राफर विजय थापा, पत्रकार भानु पराजुली ज्वाई सुकबहादुर घले र युके समाज अध्यक्षका श्रीमती रीलशोभा गुरुङको उपस्थिति थियो। सविन गुरुङले पीडितको तर्फबाट युके समाजलाई सहयोगका लागि धन्यवाद दिए।
अध्यक्ष गुरुङले अंग्रेजी नयाँ वर्ष र ल्होछारको बेलामा समाजको तर्फबाट सहयोग हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गर्दै यामको स्वास्थ्यमा छिट्टै सुधारको कामना गरे।





